You Are Here: Home - Technology - JAMANA '4K' TV KO
त्रि–आयामी भिडियो र तस्वीर हेर्न अहिले ‘थ्रिडी’ टेलिभिजन सेटहरु निकै लोकप्रिय छन् । तर, प्रविधिको विकाससँगै यसभन्दा पनि अत्याधुनिक ‘फोर के’ टेलिभिजनले तपाइंको थ्रिडी टीभीलाई इतिहासको वस्तुमा सीमित गरिदिन सक्ने देखिएको छ ।
प्रसङ्ग हो, बर्लिनमा चलिरहेको यूरोपको सबैभन्दा ठूलो कञ्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी ‘आईएफए’को, जहाँ विश्वका पाँचओटा नामी कम्पनीले राखेका फोर के टीभी सेटहरु अहिले आकर्षणको केन्द्र बनिरहेका छन् । सिनेमा हलको ठूलो पर्दाको अनुभूति दिने यी टीभी सेटहरुका डिस्प्ले रिजोलुशन अहिले बजारमा उपलब्ध हाई डिफिनिशन सेटहरुको भन्दा चार गुणा बढी रहेको छ ।
‘अल्ट्राडिफिनिशन’ (यूडी) स्क्रीनयुक्त यी टीभीमा सिनेमा हलका उच्च गुणस्तरका ‘मूभी स्क्रीन’मा नदेखिने मिहिन डिटेल्सहरु पनि देखिन्छन् । कोरियाली कम्पनीहरु सामसुङ र एलजी तथा जापानी कञ्जुमर निर्माता पानासोनिक, सोनी र तोसिबाले प्रदर्शन गरेका यी टीभीहरुका स्क्रीन रिजोलुशन ‘रेड वान’ नामक उच्च प्रविधिको व्यावसायिक मूभी क्यामराबराबरै रहेको बताइएको छ । यसले गर्दा दर्शकहरुले यी टेलिभिजन सेटनजिकै बसेर अवलोकन गर्दा पनि आँखा दुख्नेलगायतका समस्या नहुने निर्माता कम्पनीहरुले जानकारी दिएका छन् । यी सेटमा उच्च रिजोलुशनको थ्रिडी भिडियोसमेत चश्मा नलगाइकनै हेर्न सकिन्छ ।
सोनीले दिएको जानकारीअनुसार कम्पनीले ल्याएको फोर के टीभीका प्रोसेसरले सामान्य ‘ब्लू रे’ भिडियोका डिटेलहरुलाई थप परिस्कृत बनाउने क्षमता राख्छन् । आईएफए प्रदर्शनीमा आएका दर्शकहरुले पनि यी सेटहरुबाट आफूले निकै फरक अनुभूति पाएको प्रतिक्रिया दिए । कतिपयले त यी सेटहरु बजारमा आउनेबित्तिकै पुरानो थन्काएर किन्ने योजना बनाएको पनि सुनाए । यससँगै कम्पनीहरु फोर केभन्दा पनि अत्याधुनिक टीभी सेट निर्माण गर्न जुटेका छन् । यसै सन्दर्भमा पानासोनिकले जापानी प्रसारण संस्था एनएचकेसँगको सहकार्यमा ‘एट के’ सेट निर्माणमा जुटेको बताएको छ । कम्पनीले यी सेटले अहिलेका एचडी टीभीको तुलनामा १६ गुणा बढी रिजोलुशन डिस्प्ले गर्न सक्ने दाबी गरेको छ ।
0 comments