पूजाका लागि काटिएका बोकाका आलो रगत चुस्दै धामी । |
खेलाडीहरुले खेल जित्न, प्रधानमन्त्रीले आफ्नो कुर्सीको आयु लम्ब्याउन पशुबली दिने परम्परा रहेको हाम्रो मुलुकमा कुलदेवता खुसी पार्ने नाममा पनि अबोध प्राणीको हत्या गरिने परम्परा कायमै छ । शुक्रबार झापाको दमक स्थीत भट्टराई कुल प्रतिष्ठान परिसरमा रगतको होली खेलेको दृश्यले धेरैलाई आश्चर्यमा मात्र पारेन कतिपयले हेर्न नसकेर आँखा समेत बन्द गरे ।
बलि स्थलमा रगतको भेल बगेको दृश्यले त्यहाँ लगिएका बालबालिका डराएर रोइरहेका देखिन्थे । साँचै हृदयविदारक थियो, त्यो दृश्य । यिनै विषयलाई समेटेर गोरखापत्रका झापा सम्वाददाता विष्णुप्रसाद पोखरेल लेख्छन् ।
विष्णुप्रसाद पोखरेल
गौरीगन्ज
दमक, मङ्सिर २४ गते । झापाको दमक १६ कृष्णमन्दिर छेउमा रहेको भट्टराई कुल वंश प्रतिष्ठानको परिसर शुक्रबार रक्ताम्मे बन्यो । प्रतिष्ठानभित्र पसेका भट्टराई हरुको शरीर पनि रक्ताम्ये नै बनेको थियो । रगतले भरिएको जीउ र कपडा लगाएका मानिसहरु सडकमा देखिँदा बटुवाहरुले ठुलै दुर्घटना भएको भन्ठानेर सोधखोज पनि गरिरहेका थिए ।
भट्टराई बन्धुहरुले बोकाको रगतको होली खेलेको दृश्यले धेरैलाई आश्चर्यमा पारेको थियो भने कतिपय हेर्न नसकेर आँखा बन्द गरेर हिँडेका थिए । ठूलै घटना भए जस्तो सबै रगतले पोतिएका मानिहरु देख्दा र पाँच हजारभन्दा बढी मानिसको भीडभाड देख्दा सडकमा हिँड्ने धेरैको मनमा खुल्दुली रहेको पाइन्थ्यो ।
पूर्वपश्चिम राजमार्गको दुईसय मिटर आसपासमा भएका भट्टराई हरुको कुलपूजामा कालो र सेतो रङका करिब पच्चीस सय बोकाको एक साथ बलि दिइएपछिको दृश्य हो यो । यहाँ प्रत्येक तीन वर्षमा भट्टराई हरुको कुलपूजा हुने र पाँच हजार वटासम्म बोकाको बलि दिइने गरेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराई ले बताए । यहाँ बलि दिनका लागि भनेर नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतको दार्जिलिङ, सिक्किम, कालिपोङ, मेघालयलगायतको ठाउँबाट मानिसहरु आएका थिए । भट्टराई हरु मात्र नभएर यहाँ गैह्र भट्टराई हरु समेत कालो वा सेतो बोको लिएर बलि चढाउन आएको बताइएको छ ।
प्रतिष्ठानको मन्दिरदेखि करिब दुई सय मिटर टाढा बलि स्थल बनाइएको र एक पटकमा चारवटासम्म बोका काट्ने गरिएको थियो । बिहान नौ बजेदेखि सुरु भएको बलि लगातार अपरान्ह ४ बजेसम्म चलेको थियो । बलि दिन बोका लैजानाले बलि दिएपछि त्यो रगत शरीरमा खन्याउने र छर्किने गरेको र यसले मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण रगतको होली खेलिएको बताइएको छ । बलि दिन चार जना मानिस खटिएका र ती चार जनाले पच्चीस सय बोका छिनाएका थिए । यसमा अन्य डेढ दर्जनले सहयोगीको भूमिका निर्वाह गरेको जनाइएको छ । उनीहरुको पूरै शरीर रक्ताम्य रहेको थियो भने बलि स्थलमा रगतको भल बगेको दृश्यले त्यहाँ लगिएका बालबालिका डराएर रोइरहेको देखिन्थ्यो । वृद्धवृद्धा, महिला, बालबालिका, अपाङ्गलगायत सबैले बोकाको रगतमा होली खेलेको र यसलाई अन्यथा नलिइकन परम्पारागत र संस्कृतिको रुपमा मनाइएको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले बताए ।
Government of Nepal and new constitute should stop cruelty to animals
Jati nai garepani nepal ma yo pratha hatdaina...